आज परम्परागत धुमधामसहित इन्द्रजात्रा पर्व सुरु

काठमाडौँ  । वर्षा र सहकालका देवता देवराज इन्द्रको आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।

भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा विशेष धुमधामका साथ मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि जात्रा सुरु हुने परम्परा छ। यसलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। त्यसको फेदमा भैरवको पूजा गरिन्छ।

यो पर्व विजयको प्रतीकका रूपमा मनाइने गरिन्छ। इन्द्रध्वजको पूजा गरेर शक्ति प्राप्त गर्ने र त्यसलाई प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ। जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच र पुलुकिसी नाच (इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक) प्रस्तुत गरिन्छ।

इन्द्रध्वज ठड्याइएको आठौँ दिन आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ अर्थात् लडाउने विधि पूरा गरिन्छ। भरणी नक्षत्रको रातमा लडाउने धार्मिक व्यवस्था शास्त्रमा उल्लेख छ।

यस पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा श्री गणेश, श्री भैरव र जीवित देवी श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ। अघिल्ला दिनमा यो परम्परा राजाबाट सम्पन्न हुने गर्थ्यो।

इन्द्रजात्रासँगै आज अनन्त चतुर्दशी पनि मनाइन्छ। यस दिन भगवान् विष्णुको अनन्तनाथ स्वरूपको पूजा आराधना गरिन्छ। चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्दा वर्षभर शुभ हुने विश्वास छ। जनै पूर्णिमामा मन्त्रण गर्न नसकेकाहरूले यस दिन जनै पनि मन्त्रन सक्ने धार्मिक परम्परा छ।

इन्द्रजात्रा चतुर्दशीका दिन मनाएपछि पूर्णिमामा भक्तजन दहचोकस्थित इन्द्रदहमा स्नान गर्न पुग्छन्। यस दिनको स्नान र मेलामा ठूलो संख्यामा भक्तजनको सहभागिता हुन्छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ