पूर्वाधार तथा पशुपालन कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न संयुक्त फिल्ड अनुगमन

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (PMAMP) अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ, सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका विभिन्न कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रमको प्रभावकारिता, पारदर्शिता र जवाफदेहिताको मूल्याङ्कन संयुक्त फिल्ड अनुगमन गरेको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (PMAMP) अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ, सिन्धुपाल्चोकले नाला, पनौती र खोपासी क्षेत्रमा अनुगमनमा आलु सुपरजोन, गाई–भैँसी जोन र मकै जोन सञ्चालन समन्वय समितिका पदाधिकारी, कार्यक्रम कार्यान्वयन एकाइका कर्मचारी तथा सम्बन्धित सरोकारवालाको सहभागितामा अनुगमन गरेको हो ।

कार्यक्रम अन्तर्गत सञ्चालन भएका पूर्वाधार निर्माण, कृषि उद्यमशीलता विकास, पशुपालन प्रवर्द्धन तथा मूल्य शृङ्खला विकाससँग सम्बन्धित आयोजनाको स्थलगत निरीक्षण गरेको थियो । अनुगमन टोलीले आयोजना निर्माणको गुणस्तर, अनुदानको सदुपयोग, सञ्चालन अवस्था तथा किसानले प्राप्त गरेको प्रत्यक्ष लाभबारे जानकारी समेत लिएको थियो।

कार्यलयले गरेको १५ वटा कार्यक्रम अन्तर्गत अनुगमनका क्रममा पनौती–४ स्थित आर.के.सी.एन.एल. फुड बैंक लिमिटेडमा निर्माण गरिएको साना तथा मझौला कोल्ड चेम्बर तथा कृषि उपज ग्रेडिङ केन्द्रको समेत निरीक्षण गरेको थियो।
उक्त पूर्वाधारले किसानले उत्पादन गरेको आलु तथा अन्य कृषि उपजलाई ग्रेडिङ, वर्गीकरण, प्याकेजिङ तथा चिस्यानयुक्त भण्डारण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यसबाट उत्पादनपछिको क्षति न्यूनीकरण, गुणस्तर कायम राख्न तथा बजारको मागअनुसार उत्पादन बिक्री गर्न सहज हुने विश्वास लिएको छ।

त्यसैगरी पनौती–८ स्थित काभ्रे चुनादेवी कृषि फार्ममा सञ्चालन गरिएको मासु निर्यात अभिवृद्धिका लागि राँगा–भैँसी प्रवर्द्धन कार्यक्रमको पनि अनुगमन गरिएको थियो। सरकारी अनुदान र बराबर रकम लाभग्राहीको लगानी रहेको छ। कार्यक्रममार्फत उन्नत पशुपालन, उत्पादन वृद्धि र व्यावसायिक मासु उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।

कार्यक्रम कार्यान्वयन एकाइ, सिन्धुपाल्चोकका कार्यालय प्रमुख सुरेन्द्रप्रसाद पोखरेलले आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत कार्यक्रममध्ये करिब ९३ प्रतिशत कार्यसम्पादन सम्पन्न भएको जानकारी दिए। उनले कृषि उत्पादन बढाउने मात्र नभई उत्पादनपछिको व्यवस्थापन, भण्डारण, प्रशोधन, मूल्य अभिवृद्धि र बजारीकरणलाई जोड्ने पूर्वाधार निर्माणमा कार्यक्रम केन्द्रित रहेको बताए।

गाई–भैँसी जोन काभ्रेका संयोजक ज्वाला तिमल्सिनाले सरकारी अनुदानबाट निर्माण भएका पूर्वाधारको प्रभावकारी उपयोग र नियमित अनुगमनले मात्रै कार्यक्रमको वास्तविक उपलब्धि देखिने बताए। उनले किसानको उत्पादनलाई बजारसम्म पुर्‍याउने प्रक्रियालाई व्यवस्थित बनाउन ग्रेडिङ केन्द्र, कोल्ड चेम्बर, कृषि यान्त्रीकरण तथा पशुपालन प्रवर्द्धनका कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

अनुगमनका क्रममा सुपरजोन अन्तर्गत सञ्चालन भएका अन्य कार्यक्रमको पनि अनुगमन गरिएको थियो। कार्यक्रमले कृषि यान्त्रीकरण, उन्नत बीउ तथा बिरुवा वितरण, साना सिँचाइ पूर्वाधार, भण्डारण तथा प्रशोधन केन्द्र, किसान क्षमता विकास तालिम, कृषि उद्यम प्रवर्द्धन, पशु नस्ल सुधार, गोठ सुधार, दुग्ध उत्पादन वृद्धि तथा बजार व्यवस्थापनका क्षेत्रमा समेत लगानी गर्दै आएको छ। यी कार्यक्रमले उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने र किसानको आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ।

अनुगमन टोलीले सरकारी अनुदानबाट निर्माण भएका संरचनाको नियमित सञ्चालन, मर्मतसम्भार र अधिकतम उपयोगमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएको छ। साथै, किसानले उत्पादन गरेको कृषि उपजको ग्रेडिङ, भण्डारण र बजार पहुँच सुदृढ बनाउँदै कृषि क्षेत्रलाई व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने दिशामा कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर