आज जनमुक्ति सेना स्थापना दिवस , इतिहासले सम्झाएको बलिदान र गणतन्त्र राजनीतिले पूरा गर्नुपर्ने प्रतिबद्धता

काठमाडौं, मंसिर ८ । नेपालको राजनीतिक इतिहासमा व्यवस्था परिवर्तनको निम्ति जनमुक्ति आन्दोलनको खातिर स्थापना गरिएको जनमुक्ति सेना नेपालको स्थापना दिवस मनाइदै छ ।
तत्कालीन नेकपा (माओवादी) ले जनमुक्ति सेना नेपालको औपचारिक घोषणा २०५८ साल मंसिर ८ गते गरेको थियो।

यस दिन सैन्य संगठन स्थापना भएको मिति मात्र होइन, नेपालको राज्यव्यवस्था परिवर्तनको संघर्षपूर्ण इतिहाससँग जोडिएको दिन हो। दशवर्षे सशस्त्र जनयुद्धका क्रममा विकसित भएको जनमुक्ति सेनाले तत्कालीन राज्यसत्ताविरुद्धको संघर्षमा सैन्य भूमिका निर्वाह गरेको थियो। त्यस संघर्षको राजनीतिक प्रभावले मुलुकको शक्ति सन्तुलन र राज्य संरचनामा ठूलो परिवर्तन ल्याउने प्रक्रियालाई प्रभावित पारेकोन छ ।

राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको यात्रा कुनै एक आन्दोलन वा राजनीतिक शक्तिको एकल प्रयासबाट सम्भव भएको थिएन। जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, राजनीतिक दलहरूबीचको सहकार्य, मधेस तथा विभिन्न उत्पीडित समुदायका आन्दोलन र आमनागरिकको परिवर्तनप्रतिको आकांक्षाले नेपालको राजनीतिक इतिहासलाई नयाँ दिशामा अघि बढाएका थिए। त्यस ऐतिहासिक प्रक्रियामा जनमुक्ति सेनाको संघर्ष र योगदान पनि महत्त्वपूर्ण रूपमा जोडिएको छ।

आज नेपालमा राजतन्त्रको स्थानमा गणतन्त्र, केन्द्रीकृत शासनको स्थानमा संघीयता, धार्मिक राज्यको स्थानमा धर्मनिरपेक्षता र एकल प्रतिनिधित्वको सट्टा समानुपातिक समावेशिताको संवैधानिक व्यवस्था स्थापित भएको छ। यी उपलब्धि राजनीतिक संघर्ष र लामो सामाजिक आन्दोलनका परिणाम हुन्।

तर इतिहासको अर्को पाटो पनि उत्तिकै महत्त्वपूर्ण छ। परिवर्तनका लागि जीवन गुमाउने शहीद परिवार, शरीरमा गोली र घाउ बोकेर बाँचेका घाइते तथा अपाङ्ग योद्धा र संघर्षका वर्षहरू बिताएका पूर्वजनमुक्ति सेनाका सदस्यहरूको जीवनमा परिवर्तनको अनुभूति कति पुग्यो भन्ने प्रश्न आज पनि उत्तिकै सान्दर्भिक छ।

शान्ति प्रक्रियापछि जनमुक्ति सेनाको सैन्य संरचना विघटन भयो। लडाकुहरूको समायोजन, स्वैच्छिक अवकाश र पुनःस्थापनाको प्रक्रिया पूरा गरियो। तर राजनीतिक व्यवस्थापनसँगै उनीहरूको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पुनःस्थापनाका सबै प्रश्न समाधान भए भन्न सकिने अवस्था छैन।

जनमुक्ति सेनाको स्थापना दिवसले राजनीतिक नेतृत्वलाई विगतका प्रतिबद्धता र वर्तमान व्यवहारबीचको दूरी समीक्षा गर्न पनि सम्झाउँछ। गणतन्त्र प्राप्त गर्नु एउटा ऐतिहासिक उपलब्धि थियो, तर गणतन्त्रलाई जनताको जीवनसँग जोड्नु अझ ठूलो जिम्मेवारी हो। राज्यसत्ताको स्वरूप परिवर्तनसँगै शासन गर्ने संस्कार, सार्वजनिक सेवा, आर्थिक अवसर र सामाजिक न्यायमा पनि परिवर्तन आउनु आवश्यक छ।

इतिहासलाई आफ्नो राजनीतिक सुविधाअनुसार व्याख्या गर्नेभन्दा त्यसका योगदान, कमजोरी, पीडा र उपलब्धिको निष्पक्ष मूल्याङ्कन गर्नु आजको आवश्यकता हो। द्वन्द्वका सबै पीडितले न्याय पाउनु, शहीद परिवारले सम्मान पाउनु र घाइते तथा अपाङ्ग योद्धाहरूले सम्मानजनक जीवनयापनको आधार पाउनु नै परिवर्तनप्रतिको वास्तविक प्रतिबद्धता हुनेछ।

जनमुक्ति सेनाको स्थापना दिवसले सन्देश दिएको छ —इतिहास बलिदानले लेखिन्छ, तर त्यसको सार्थकता उपलब्धिको संरक्षण र जनताको जीवनमा आउने परिवर्तनले निर्धारण गर्छ।

यस ऐतिहासिक अवसरमा परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा अपाङ्ग योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। पूर्वजनमुक्ति सेनाका सम्पूर्ण योद्धाहरूको त्याग, तपस्या, वीरता, सौर्य र बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपाली मुक्तिकामी जनसमुदायमा जनमुक्ति सेना स्थापना दिवसको हार्दिक शुभकामना व्यक्त गरिएको छ।

सम्बन्धित खवर