रोशी गाउँपालिकामा सुरु भयो ५ वेडको अस्पताल

काठमाडौं, गत असोज १०, ११ र १२ गते परेको बर्षा पश्चा आएको रोशी खोलाको बाढीले बगाएको रोशी आधारभूत अस्पतालको अस्थायी संरचना निर्माण पश्चात हस्तान्तरण गरेको छ । विश्व स्वास्थ संगठनको आर्थिक सहयोगमा निर्माण भएको अस्पताल संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेर मन्त्रालयले रोशी गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

गत असोजको बाढीले निर्माण अन्तिम चरणमा पुगेको रोशी–१ फलामेसाँघुमा अवस्थित १० शैयाको रोशी आधारभूत अस्पताल भवन बाढीले बगाएको थियो । अस्थायी रुपमा सञ्चालित अस्पतालको भवन पनि बगाएपछि अलपत्र अवस्थामा टेन्टमा बसेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका थिए ।

बुधबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी मेडिकल क्याम्प किड हस्तान्तरण गरेका थिए । हस्तान्तरण गर्दै सहसचिव बुढाथोकीले आधारभूत अस्पताल बनाउन संघीय सरकारको दायित्व भएकोले बेजट व्यवस्थापन गर्न संघीय सरकार तयार रहेको बताए । स्थायी अस्पताल भवन निर्माण गर्नको लागि आवश्यक ठाउँ पहिचान गरेमा बजेत व्यवस्थापन हुने उनको भनाई छ । विपदमा विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग र सहकार्य गर्दै अगाडी बढ्ने उनको भनाई छ ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले गत असोजको बाढीले निर्माण अन्तिम चरणमा पुगेको अस्पताल भवनसहित रोशीमा धेरै जनधनको क्षती पुर्याएको बताए । निर्माणको ९० प्रतिशत सम्पन्न भएको भवन बाढीले बगाएपछि स्वास्थ्य सेवा दिनको लागि छटपटाई रहेको अवस्थामा अर्धपक्की भवन प्राप्त गरेपछि खुसी लागेको लामाले बताए ।

अर्धपक्की भवनसहित स्वास्थ्य सामग्री प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठनलाई गाउँपालिका अध्यक्ष लामाले आभार प्रकट गरेका छन् ।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजी रावपाण्डबले स्वास्थ्य क्षेत्रमा सहयो गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि नेपाल सरकारसँग साझेदारी गर्दै अगाडी बढ्ने उनको भनाई छ ।

अर्धपक्की भवन पाएपछि रोशी आधारभूत अस्पतालबाट रोशी गाउँपालिकाको वडा नं. १,२,३ र ४ का नागरिकले सुविधा पाउने रोशी गाउँपालिकाका अध्यक्ष मिमबहादुर वाईबाले बताए । रोशी गाउँपालिकाका नागरिकलाई मात्र नभई नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका केही वडाका नागकिरले पनि स्वास्थ्य सेवा प्राप्त गर्ने उनको भनाई छ । यस भेगका स्थानीयले स्वास्थय सेवा नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाई छ ।

जिल्ला जनस्वास्थय कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतीले अस्पतालमा नागरिकले पनि चासो दिएर आफ्‌नो स्वास्थ्य परिक्षण गर्नुपर्ने बताए । अस्पताल बनाएर स्वास्थ्य सेवा लिन अन्यत्र जाँदा सरकारको लगानी सदुपयोग नहुने भन्दै नजिको अस्पतालमा सेवा लिन नागरिक जागरुक हुनुपर्ने बताईन् ।

अस्पताल भवनसँगै अस्पतालको लागि आवश्यक सबै सामग्री पनि विश्व स्वास्थ्य संगठनले हस्तान्तरण गरेको छ । तीन महिनाको लागि १० हजार जना सेवाग्राहीलाई पुग्ने औषधी पनि संगठनले हस्तान्तरण गरेका छन् । अस्पतायी रुपमा सञ्चालन गर्नको लागि ५ बेडको क्षमता रहेको छ ।
गाउँपालिकाले सहयोग गर्ने विश्व स्वास्थ्य संगठन र निर्माण कम्पनी एस एस आरलाई प्रशंसापत्र र दोसल्लाले सम्मान गरेका थिए ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले सञ्चालन गरेको उक्त कार्यक्रममा वडा नं. १ की कार्यवहाक वडाध्यक्ष मनकुमारी लामा, वडा नं. २ का वडाध्यक्ष हस्तमान लामा, वडा नं. ३ का धनजीत लामा, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिलरत्न शाक्य लगायतको उपस्थिती रहेका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ