जलपक्षीको नेपालमा सङ्ख्या घट्दो

काठमाडौँ । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म नेपालभरका ताल, तलैया, नदी तथा सिमसार क्षेत्रमा जलपक्षीको प्रजाति, सङ्ख्या र बासस्थानको अवस्था अध्ययन गर्न जलपक्षी गणना गरिँदै आएको छ । तर पछिल्ला वर्षहरूमा नेपालमा जलपक्षीको सङ्ख्या र प्रजाति घट्दो क्रममा देखिएको छ ।

सन् २०२५ मा गरिएको जलपक्षी गणनामा नेपालमा ९४ प्रजातिका ९६ हजार ५६५ जलपक्षी अभिलेख भएका थिए । तर सन् २०२६ को गणनामा भने ८९ प्रजातिका ९० हजार ६८८ जलपक्षी मात्रै अभिलेख गरिएको छ । यसभन्दा अघिल्ला वर्षहरूमा एक लाखभन्दा बढी जलपक्षी अभिलेख हुने गरेका थिए ।

वाटरल्याण्ड इन्टरनेशनलको सहकार्यमा भारतीय महाद्विपमा सन् १९८७ देखि एसियास्तरीय जलपक्षी गणना सुरु गरिएको हो । नेपालले पनि सन् १९८७ देखि निरन्तर रूपमा यस अभियानमा सहभागिता जनाउँदै आएको छ । अत्यधिक चिसो हुने रुस, साइबेरिया, मङ्गोलिया, उत्तरी चीनलगायत क्षेत्रबाट जलपक्षी हिउँदको समयमा अनुकूल तापक्रम र आहाराको खोजीमा नेपाल आउने गर्छन् । केही चरा भारतको राजस्थानसम्म पुग्ने र फर्कँदा पाकिस्तान तथा अफगानिस्तानको बाटो प्रयोग गर्ने चराविद्हरू बताउँछन् ।

यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र नेपाल पक्षीविद् सङ्घको संयोजनमा देशभरका १८ प्रमुख सिमसार क्षेत्र तथा तिनअन्तर्गतका ७८ साना क्षेत्रमा जलपक्षी गणना गरिएको नेपाल पन्छिविद् सङ्घका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेलले जानकारी दिए । गणनामा ४११ जना स्वयंसेवक गणकको सहभागिता रहेको थियो र तथ्याङ्क विश्व सिमसार दिवस (फेब्रुअरी २) का अवसरमा सार्वजनिक गरिएको हो ।

पौडेलका अनुसार सिमसार क्षेत्रमा बढ्दो मानवीय गतिविधि, पूर्वाधार निर्माण, मिचाहा प्रजातिको फैलावट, कृषिमा रसायनिक मल र विषादीको बढ्दो प्रयोगले जलपक्षीको आहार र बासस्थान प्रभावित बनेको छ । यसका कारण जलपक्षी नेपालमा कम समय बस्न थालेको हुन सक्ने उनको भनाइ छ ।

निकुञ्ज विभागका सूचना अधिकारी हरिभद्र आचार्यले सिमसार क्षेत्रमा अतिक्रमण, विषादी प्रयोग र जलवायु परिवर्तनका असरले जलपक्षीको आहारामा कमी आएको बताए । वरिष्ठ इकोलोजिष्ट आचार्यका अनुसार सिमसार क्षेत्रको क्षेत्रफल र गुणस्तर घट्दै जानु जैविक विविधताका लागि गम्भीर चुनौती हो ।

पक्षी संरक्षणकर्मीहरूले सिमसार क्षेत्रमा अव्यवस्थित विकास, प्रदूषण, फोहर विसर्जन, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन्, तालतलैयामा डुङ्गा सञ्चालन तथा विषादी प्रयोगजस्ता गतिविधिले जलपक्षीको बासस्थान विनाश भइरहेको बताएका छन् । आहाराको अभावका कारण जलपक्षी अन्य सुरक्षित क्षेत्रतर्फ सर्ने जोखिम बढ्दै गएको उनीहरूको निष्कर्ष छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ