निर्वासित मुहान

– शिशिर भण्डारी

मेरो गाउँमा
जामुनको एउटा बूढो रुख थियो ।

त्यसको छहारीमुनि
एउटा पँधेरो ।

पानीको मात्र होइन,
भेटघाटको पनि मुहान ।

त्यहाँ
लेउ लागेका ढुङ्गाहरू थिए,
र ती ढुङ्गाभन्दा पुराना
मानिसहरूका विश्वास ।

पानी यति सफा थियो कि
मानिसहरूले त्यहाँ
अनुहारभन्दा बढी
आफ्नो समय देख्थे ।

बिहान
पधेर्नीहरू आउँथे ।

गाग्रीहरू भरिन्थे ।

र सँगसँगै
रित्तिँदै जान्थे
मनभित्रका थकानहरू ।

कुनै गाग्रीमा पानी बज्थ्यो,
कुनै आँखामा सपना ।

दिउँसो
गोठालाहरू आउँथे ।

गाईबस्तुहरू पानी पिउँथे,
मानिसहरू
केहीबेर शीतलता ।

साँझ
आकाश पँधेरोमा ओर्लिन्थ्यो ।

र गाउँभरि छरिएका दिनहरू
पानीमा जम्मा हुन्थे ।

त्यो बेला
गाउँ गरिब थियो ।

तर सम्बन्धहरू धनी थिए ।

अन्न कम थियो,
तर अभावभन्दा ठूलो
एकअर्काको साथ थियो ।

मानिसहरू असहमत हुन्थे ।

तर एकअर्कासँग
मौन हुने गरी टाढा पुग्दैनथे ।

पछि
सडक आयो ।

बिजुली आयो ।

स्क्रिनहरू आए ।

अनि
संसार गाउँभित्र पस्यो ।

सपना ठूला भए ।

घरहरू अग्ला भए ।

तर
औकात र
कुराकानीहरू होचा हुँदै गए ।

मानिसहरू नजिक देखिन थाले,
तर नजिक हुन छोडे ।

त्यसपछि

पँधेरो जाने बाटोमा
पहिले झार उम्रियो ।

पछि बिर्सने बानी ।

खुट्किलाहरू हराए ।

ढुङ्गाहरू पुरिए ।

मुहानमाथि
बाढीले आफ्नो परिचय छोडेर गयो ।

अनि एक दिन
पानी सुक्यो ।

अचम्म के थियो भने—

मुहान सुक्दा
कसैले रोएनन् ।

किनकि
त्यसभन्दा धेरै पहिले
मानिसहरूभित्रका
मुहानहरू सुकिसकेका थिए ।

आज
त्यहाँ एउटा खाल्डो छ ।

वर्षामा
त्यसमा आकाश जम्मा हुन्छ ।

तर पानी हुँदैन ।

आकाशको तस्बिर छ,
गहिराइको स्मृति छैन ।

जामुनको रुख
अझै उभिएको छ ।

ऊ सायद
मभन्दा धेरै कल्पिन्छ ।

कहिलेकाहीँ
म त्यहीँ पुग्छु ।

र सोच्छु—

हराएको पँधेरो होइन ।

हराएको बाटो पनि होइन ।

हराएको त
त्यो तिर्खा हो,

जसले मानिसलाई
अर्को मानिससम्म पुर्‍याउँथ्यो ।

माटो खोस्रेर हेर्छु ।

त्यहाँ केही भेटिँदैन ।

केवल एउटा प्रश्न—

के मुहान निर्वासित भएको हो,

कि

हामी ?

सम्बन्धित खवर