– शिशिर भण्डारी
मेरो गाउँमा
जामुनको एउटा बूढो रुख थियो ।



त्यसको छहारीमुनि
एउटा पँधेरो ।
पानीको मात्र होइन,
भेटघाटको पनि मुहान ।
त्यहाँ
लेउ लागेका ढुङ्गाहरू थिए,
र ती ढुङ्गाभन्दा पुराना
मानिसहरूका विश्वास ।
पानी यति सफा थियो कि
मानिसहरूले त्यहाँ
अनुहारभन्दा बढी
आफ्नो समय देख्थे ।
बिहान
पधेर्नीहरू आउँथे ।
गाग्रीहरू भरिन्थे ।
र सँगसँगै
रित्तिँदै जान्थे
मनभित्रका थकानहरू ।
कुनै गाग्रीमा पानी बज्थ्यो,
कुनै आँखामा सपना ।
दिउँसो
गोठालाहरू आउँथे ।
गाईबस्तुहरू पानी पिउँथे,
मानिसहरू
केहीबेर शीतलता ।
साँझ
आकाश पँधेरोमा ओर्लिन्थ्यो ।
र गाउँभरि छरिएका दिनहरू
पानीमा जम्मा हुन्थे ।
त्यो बेला
गाउँ गरिब थियो ।
तर सम्बन्धहरू धनी थिए ।
अन्न कम थियो,
तर अभावभन्दा ठूलो
एकअर्काको साथ थियो ।
मानिसहरू असहमत हुन्थे ।
तर एकअर्कासँग
मौन हुने गरी टाढा पुग्दैनथे ।
पछि
सडक आयो ।
बिजुली आयो ।
स्क्रिनहरू आए ।
अनि
संसार गाउँभित्र पस्यो ।
सपना ठूला भए ।
घरहरू अग्ला भए ।
तर
औकात र
कुराकानीहरू होचा हुँदै गए ।
मानिसहरू नजिक देखिन थाले,
तर नजिक हुन छोडे ।
त्यसपछि
पँधेरो जाने बाटोमा
पहिले झार उम्रियो ।
पछि बिर्सने बानी ।
खुट्किलाहरू हराए ।
ढुङ्गाहरू पुरिए ।
मुहानमाथि
बाढीले आफ्नो परिचय छोडेर गयो ।
अनि एक दिन
पानी सुक्यो ।
अचम्म के थियो भने—
मुहान सुक्दा
कसैले रोएनन् ।
किनकि
त्यसभन्दा धेरै पहिले
मानिसहरूभित्रका
मुहानहरू सुकिसकेका थिए ।
आज
त्यहाँ एउटा खाल्डो छ ।
वर्षामा
त्यसमा आकाश जम्मा हुन्छ ।
तर पानी हुँदैन ।
आकाशको तस्बिर छ,
गहिराइको स्मृति छैन ।
जामुनको रुख
अझै उभिएको छ ।
ऊ सायद
मभन्दा धेरै कल्पिन्छ ।
कहिलेकाहीँ
म त्यहीँ पुग्छु ।
र सोच्छु—
हराएको पँधेरो होइन ।
हराएको बाटो पनि होइन ।
हराएको त
त्यो तिर्खा हो,
जसले मानिसलाई
अर्को मानिससम्म पुर्याउँथ्यो ।
माटो खोस्रेर हेर्छु ।
त्यहाँ केही भेटिँदैन ।
केवल एउटा प्रश्न—
के मुहान निर्वासित भएको हो,
कि
हामी ?








