– शिशिर भण्डारी
“हजुरआमा… घर भनेको के हो ?”



नातिले सोध्यो ।
मैले उत्तर दिनुअघि
कीर्तिपुरको होल्डिङ सेन्टरको पालमाथिबाट अर्को थोपा पानी
हाम्रो सिरानीमा झर्यो ।
मैले उसको कपाल छामेँ ।
र सोचेँ –
भिजेको रातमा
घरको परिभाषा कसरी सम्झाइन्छ हँ ?
“हजुरआमा… हामी यहाँ किन छौँ ?”
उसले फेरि सोध्यो ।
मैले बाहिर हेरें ।
असारको पानी
प्लास्टिकमाथि बजिरहेको थियो ।
अली पर भिजेका चप्पलहरू
लाइन लागेर उभिएका थिए ।
कसैको चुल्हो थिएन ।
धुवाँ थिएन ।
भातको गन्ध थिएन ।
मात्र पानीको आवाज थियो ।
र भोकको ।
“हजुरआमा… हाम्रो घर कहाँ गयो ?”
उसले फेरि सोध्यो ।
मैले भन्न सकिनँ –
त्यो घर
एउटा आततायी
डोजरको बकेटमुनि परेको थियो ।
त्यो घरसँगै
तेरो बाबुले
पहिलोपटक उभिन सिकेको आँगन थियो ।
तेरी आमाले
पहिलोपटक
तिहारमा दियो बालेको साँझको मझेरी थियो ।
तेरो हजुरबुबाले
जिवनको
अन्तिमपटक घाम तापेको पिँढी थियो ।
र
घर इँटाले बनेको थिएन, बाबु ।
त्यो त –
हामीले बिताएका वर्षहरूले बनेको थियो ।
“हजुरआमा… डोजर किन रिसाएको थियो ?”
प्रश्न गर्दै-
ऊ निदाउन खोज्दै थियो ।
मैले उसको आँखा छोपिदिएँ ।
किनकि
मसँग
फलामको रिसको कथा थिएन ।
मसँग
मानिसको मौनताको कथा मात्र थियो ।
भोलिपल्ट
कसैले भन्यो—
“यो व्यवस्थापन हो ।”
त्यो वाक्य पानीभन्दा चिसो थियो ।
हावाभन्दा धारिलो थियो ।
मैले आफ्ना नातितिर हेरेँ ।
उसले त्यो शब्द बुझेन ।
तर
उसले आफ्नो कापी खोज्यो ।
कापी भेटेन ।
अनि
उसले आफ्नो घरको चित्र कोर्न खोज्यो ।
जमिन नै भेटेन ।
“हजुरआमा…
अब हाम्रो ठेगाना कहाँ लेख्ने ?”
उसले फेरि सोध्यो ।
मैले आफ्नो हात हेरें ।
यी हातले-
अरूका घर उठाएका थिए ।
इँटा बोकेका थिए ।
बालुवा चालेका थिए ।
सिमेन्ट घोलेका थिए ।
तर
आज
यी हातमा
आफ्नै ओत थिएन ।
रात फेरि आयो ।
होल्डिङ सेन्टरको पाल फेरि चुहियो ।
एउटी आमा
ज्वरोले पोलिरहेको बच्चालाई
आफ्नो काखले छोपिरहेकी थिइन् ।
एउटा वृद्ध
भिजेको कम्बलमुनि खोकी गन्दै थिए ।
एउटी किशोरी
पानी नपरोस् भनेर आफ्नो किताब
छातीमा च्यापेर बसेकी थिई ।
त्यो रात
वर्षा आकाशमा मात्र परिरहेको थिएन ।
एउटा राष्ट्रको
विवेकमाथि पनि पानी परिरहेको थियो ।
“हजुरआमा…
महाराजले हाम्रो घर देख्नुभएको थियो ?”
ऊ फेरि बोल्यो ।
मैले उत्तर दिइनँ ।
किनकि
यदि
त्यो महाराजले देख्नुभएको थियो भने –
यति सजिलै यो उजाडलाई
अर्को नाम “व्यवस्थापन” भनेर
दिन सकिनुहुन्थेन ।
र
यदि देख्नु भएको थिएन भने
त्यो भन्दा ठूलो अन्धकार के हुन सक्छ ?
बिहान भयो ।
सूर्य निस्कियो ।
पाल सुक्न थाल्यो ।
तर
हाम्रो भित्रको चिसो सुक्न मानेन ।
हामी हिँड्न थाल्यौँ ।
पछाडि
डोजरले सम्याएको जमिन थियो ।
अगाडि
कुनै निश्चित ठेगाना थिएन ।
धेरै पर पुगेपछि
मेरो नातिले एक्कासि पछाडि फर्केर सोध्यो—
“हजुरआमा…
अब हामी फर्किने घर कहाँ पर्छ ?”
मैले
उसको हात झन् कस्सिएर समातेँ।
र उसलाई अँगालो हालिरहेँ ।
एकछिन हामी दुवै-
पछाडि फर्केर हेरिरह्यौँ ।
त्यहाँ-
कुनै घर थिएन ।
धमिलो पानीको दह थियो।
र
त्यो पानीको “दह”लाई
महाराजले
“व्यवस्थापन” भनिरहनु भएको थियो ।








