काभ्रे ।प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा सामाजिक अभियन्ता तथा अनुभवी राजनीतिज्ञ राजेश कुमार श्रेष्ठ ले “पार्टी मात्र होइन, पात्र पनि रोजौँ” भन्ने सशक्त सन्देशसहित चुनावी मैदानमा बलियो उपस्थिति जनाएका छन्।
पनौती नगरपालिका वडा नं. ७ निवासी श्रेष्ठको चुनाव चिन्ह ‘आँखीझ्याल’ रहेको छ। सुशासन, संस्कार र समृद्धिलाई मूल एजेन्डा बनाउँदै उनी यसपटक जनताको प्रत्यक्ष विश्वास जित्ने लक्ष्यसहित उम्मेदवार बनेका हुन्।
श्रेष्ठको राजनीतिक यात्रा २०४० सालमा नेपाली कांग्रेसबाट सुरु भएको हो। लोकतान्त्रिक आन्दोलनका क्रममा उनले ७ महिना जेल जीवन समेत बिताएका छन्। बहुदलीय व्यवस्था पुनःस्थापनाका आन्दोलनदेखि विभिन्न सामाजिक तथा संस्थागत नेतृत्वसम्म उनको सक्रिय भूमिका रहँदै आएको छ।
सामाजिक जीवनमा पनि उनी सधैं जनतासँगै रहेका छ्न। पनौती नगर विकास समिति, खेलकुद विकास समिति, युवा तथा सामाजिक संघ–संस्थाहरूमा अध्यक्ष, सचिव र समन्वयक को जिम्मेवारी सम्हाल्दै उनले समाजसेवामा महत्वपूर्ण योगदान दिएका छन्। जनताको दुःख–सुखसँग नजिक रहेर काम गरेको अनुभव नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको श्रेष्ठ बताउँछन्। ४२ वर्षसम्म नेपाली कांग्रेसका लागि निःस्वार्थ योगदान दिए पनि पार्टीभित्र मेहनती र साहसी व्यक्तिको मूल्यांकन नभएको गुनासो उनले गरेका छन्।
“राजनीतिमा पालो कुर्दा–कुर्दै जीवन बित्यो, तर कहिल्यै सेवा–सुविधाको लोभ गरिनँ,” श्रेष्ठ भन्छन्। केन्द्रदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ताबाट उम्मेदवारी फिर्ता लिन दबाब आए पनि आफूले गरेको सेवाको कदर गर्दै यसपटक चुनाव लड्ने निर्णय गरेको उनले बताएका छन्। “म जिते पनि हारे पनि जनताकै बीचमा रहनेछु,” उनले भने, “तर जित हासिल भए काभ्रे–१ का आम मतदाताका समस्या संसद भवनसम्म पुर्याएर समाधानका लागि दृढतापूर्वक लाग्नेछु।”
निर्वाचनपछि पनि कुनै राजनीतिक बिचलनमा नपरी निरन्तर समाजसेवा र कर्ममा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै उनले आम मतदातालाई आफ्नो पक्षमा मत दिन आग्रह गरेका छन्।










