सरकारको कार्यशैलीप्रति सीके राउतको असन्तुष्टि, ‘बाटो सच्याउन’ चेतावनी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउत ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल आफ्नो बाटो सच्याउन चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै राउतले सरकारको ‘विकास’ सम्बन्धी अवधारणा र नागरिकप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार विकास भनेको केवल चिल्ला फुटपाथ र चौडा सडक निर्माण मात्र नभई हरेक नागरिकलाई सुरक्षित आवास, आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच सुनिश्चित गर्नु हो।

उनले राजधानीमा गरिब, मजदुर र सीमान्तकृत समुदायलाई विस्थापित गर्दै बनाइने संरचनालाई ‘नवधनाढ्यहरूको विलासिता’को संज्ञा दिएका छन्। राउतले विकासको नाममा सामाजिक असमानता बढ्न नहुनेमा जोड दिएका छन्।

उनका अनुसार राज्यको मूल आधार जनता नै हुन् र राज्यका सम्पूर्ण स्रोतसाधन पनि जनताकै सम्पत्ति हुन्। सरकारले जनताको सेवा र संरक्षणका लागि जिम्मेवारी पाएको संस्था भएकाले आफ्नो सीमाना, दायित्व र उत्तरदायित्व बुझ्न आवश्यक रहेको उनले बताएका छन्।

राउतले निर्णयकर्ताहरूलाई ‘गोल्डेन रुल’ अपनाउन सुझाव दिँदै, कुनै पनि निर्णय लिनुअघि आफूलाई पीडितको स्थानमा राखेर सोच्नुपर्ने बताएका छन्। उनले चेतावनी दिँदै भनेका छन् कि जनताको अधिकार र सम्मानमा आँच पुगे गम्भीर परिणाम आउन सक्नेछन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ