काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता गरिएको ‘संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश, २०८३’ फेरि जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार, उक्त अध्यादेश पुनः अघि बढाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
बैठकले उद्योग क्षेत्रमा परम्परागत ‘बोइलर’लाई ‘इलेक्ट्रोनिक बोइलर’ले प्रतिस्थापन गर्न कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण र पाँच मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, भारतसँग सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद् बैठकले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना पनि स्वीकृत गरेको छ, जसमा संसद् भवन परिसरमा प्रवेशलगायतका विषय समेटिएका छन्।










