काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको घटनाप्रति आपत्ति जनाएको छ।
मुख्यमन्त्री बानियाँको अध्यक्षतामा आज बसेको बैठकले विभागले सामान्य सूचना समेत नदिई छापामार शैलीमा अनुसन्धान अघि बढाएको भन्दै गम्भीर आपत्ति जनाएको हो।
बैठकले गरेको निर्णयमा भनिएको छ, ‘मुख्यमन्त्री इन्द्रबहादुर बानियाँप्रति सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी निजी निवास र विगतमा उहाँ आबद्ध कार्यालयमा गरिएको छापामार शैलीको अनुसन्धान कार्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै, लगाइएका आरोपको संवैधानिक र कानुनी दायराभित्र रहेर निष्पक्ष र न्यायोचित छानबिन गर्न आग्रह गर्ने।’










