काभ्रेपलान्चोक जिल्लाको दक्षिणी भेग बेथानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र बेथानचोक नारायणस्थानमा जान रोक लगाइएको छ।
त्यस क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण रूख, जङ्गली जनावर तथा चराको बासस्थान रहेको यस क्षेत्रलाई जोगाउन आवश्यक छ।
आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर लगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ। सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो।
उक्त आगलागी करिब एक किलोमिटर क्षेत्रलाई क्षति पुर्याइसकेको छ। बेथानचोक गाउँपालिकाका सूचना अधिकारी ज्ञान प्रसाद तिमिल्सिनाका अनुसार अहिले पनि आगो नियन्त्रणमा आइनसकेको छैन।
गाउँपालिका प्रमुख भगवान अधिकारीले आगो निभाउन हेलिकप्टर पनि परिचालनत गरिएको बताए। आजबाट सिम्रिक एयरको हेलिकोप्टरबाट आगलागी नियन्त्रणका लागि पानी खन्याउने काम भएको छ। यता नेपाली सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि परिचालन गरिएको बताए।

जंगलबाट मानव बस्ती करिब दुईदेखि तीन किलोमिटरको दूरीमा रहेको उनले बताए।
स्थानीय निकाय देखि सबै निकाय यसमा परिचालन भइरहेका छन उनले भने तर आगो अझै नियन्त्रणमा भने आइसकेको छैन। सल्लाको रूखका कारण राती आगो फैलिने रहेछ। त्यसैले मानवबस्तितिर आइरहेको आगो निभाउने गरी काम गरिरहेका छौँ।
प्रमुख अधिकारीले सुरक्षा निकायका करिब एक सयजना व्यक्ति खटिरहेको बताए। प्रमुख जिल्ला अधिकारी ले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताए।
आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ।
डिभिजन वन कार्यालय धुलिखेलका प्रमुख कृष्णबहादुर थापाले वनमा आगो फैलिरहेकाले नियन्त्रणका लागि जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट वन डढेलो नियन्त्रण सामग्री भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने, वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासङ्घसँग समन्यवमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको बताए।











