काभ्रेपलाञ्चोक — भुम्लु गाउँपालिकामा उत्पादन भएको तितेपातीको तेल अब अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न योग्य भएको प्रमाणित भएको छ। वनस्पति विभागले गरेको प्रयोगशाला परीक्षणमा यस तेललाई “उत्कृष्ट गुणस्तर” को मान्यता दिइएपछि भुम्लु गाउँपालिकाको जडीबुटी उत्पादन नयाँ चरणमा प्रवेश गरेको हो।

गाउँपालिकाले स्थापना गरेको जडीबुटी तथा कृषि उत्पादन प्रशोधन केन्द्रमा तयार भएको तेलको नमुना केही दिनअघि परीक्षणका लागि पठाइएको थियो। प्राप्त प्रतिवेदनले यसलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने स्तरमा रहेको पुष्टि गरेको छ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार करिब ५० लाखको खर्चमा जडीबुटी प्रशोधन केन्द्रले २०८१ साल असोजबाट आफनो काम थालनी गरेको र गाउँपालिको उक्त प्रशोधन केन्द्रबाट पहिलो चरणमा २० लिटर उत्पादन भएको बताए । परिक्षणको लागि पठाएका तेलको रिपोर्ट सकारात्मक आएपछि अब थप गाउपालिका ले प्रशोधन केन्द्रलाई आवश्यक बजेट छुट्टयाइ प्रबर्द्धन गर्ने बताएका छ्न।

तितेपाती, जसलाई वैज्ञानिक भाषामा Artemisia vulgaris भनिन्छ, परम्परागत उपचारपद्धतिमा प्रयोग हुँदै आएको महत्वपूर्ण वनस्पति हो। यसमा पाइने प्राकृतिक तत्वहरूले जीवाणु नष्ट गर्ने, फंगल नियन्त्रण गर्ने, सुजन कम गर्ने, पाचन सुधार गर्ने र दुखाइ घटाउने प्रभाव पार्ने विभिन्न अध्ययनहरूले देखाएका छन्। यसै कारण यसको तेल औषधि उत्पादन, सौन्दर्य सामग्री, सुगन्धोपचार तथा कीटाणु नाश गर्ने वस्तुमा प्रयोग हुँदै आएको छ। गुणस्तर र शुद्धताका आधारमा अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य उच्च हुने भएकाले भुम्लुमा उत्पादित तेलले नेपाललाई जडीबुटी निर्यात क्षेत्रमा नयाँ सम्भावना खोलिदिएको छ।
तितेपाती तेल अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउनु भुम्लुको महत्त्वपूर्ण उपलब्धि हो।भुम्लु गाउँपालिकाबाट सुरु भएको यो यात्राले स्थानीय किसानलाई नयाँ आशा दिएको छ। अब उनीहरूले आफ्नै बाजो बारि खेत मा उब्जिएको तितेपातीलाई प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन गाउपालिकाले सहयोग गर्ने भएको छ। यसले रोजगारी सिर्जना गर्ने, आम्दानी बढाउने मात्र होइन, भुम्लुलाई जडीबुटी उत्पादनमा विश्वसनीय केन्द्रका रूपमा स्थापित गर्ने आधार पनि बनाउँदैछ।











